Monday, March 18, 2019

" नेपाल भाषा र साहित्यमा प्रगतिशीलता" विषयक बिचार गोष्ठी सम्पन्न

प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा  २०७२ साल साउन ३० गते  " नेपाल भाषा र साहित्यमा प्रगतिशीलता" विषयक बिचार गोष्ठीको आयोजना गरियो । केन्द्रीय समितिका अध्यक्ष अमर गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा " नेपाल भाषा र साहित्यमा प्रगतिशीलता"  विषयको कार्यपत्र  प्रा. डा. चन्द्रमान बज्राचार्यले प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमाथि मल्ल के. सुन्दर, डा. प्रेमशान्ति तुलाधरले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ कवि दुर्गालाल श्रेष्ठले एउटा कविता बाचन गर्नु भएको थियो।  केन्द्रीय समितिका महासचिव मित्रलाल पंज्ञानीले संचालन गर्नु भएको उक्त कार्यक्रममा उपाध्यक्ष मातृका पोखरेलले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो। 



























================================================
================================================
कार्यपत्र

नेपालभाषा साहित्यमा प्रगतिशीलता
– प्रा.डा.चन्द्रमान वज्राचार्य

१. प्रस्तावना :
समाज र साहित्यबीचको अन्तर्सम्बन्ध अत्यन्त गहिरो छ । साहित्यभित्र समाज हुन्छ भने समाजअनुसारको साहित्य हुन्छ । तसर्थ नै कुनै पनि साहित्यको अध्ययनको उद्देश्य त्यो साहित्यभित्रको समाजको व्यापक अध्ययन गर्नु हुन्छ ।
नेपालभाषा साहित्यमा प्रगतिशीलताको अध्ययन गर्नुको उद्देश्य भनेको नेवार समाजमा प्रगतिशीलताको स्थितिको अध्ययन गर्नु हो । यसको सिधा अर्को उद्देश्य नेवार समाजमा प्रगतिशील चेतना बारे यथार्थ ज्ञान लिनु भन्ने हुन्छ । यसभित्र पनि अनेक उद्देश्यहरू हुन सक्छन् । आजको यो कार्यक्रमको आयोजक प्रगतिशील लेखक संघले नेपालभाषा साहित्यमा प्रगतिशीलता विषयक कार्यपत्र प्रस्तुत गराउनुको भित्री उद्देश्य स्पष्ट नभए पनि मलाई लाग्छ यो कार्यक्रम केवल कार्यक्रमकै लागि मात्र नभई कुनै ठोस योजना सम्पन्न गर्न खातिर गरिएको कार्यक्रम हुनुपर्छ । तर समयको अपर्याप्तताको कारण मैले नेपालभाषाको सम्पूर्ण साहित्यको विधागत परिचय प्रस्तुत गर्न असमर्थता जाहेर गर्दै आजको यो कार्यक्रममा ‘नेपालभाषा काव्यमा प्रगतिशीलता’मा मात्र सम्पूर्ण ध्यान केन्द्रित गर्न चाहन्छु । 
२. ‘नेपालभाषा’को प्रयोग प्रचलन — 
नेपाल खाल्डो अर्थात् काठमाडौं उपत्यकाका आदिबासी नेवारहरूको नेपालभाषा नेपालको ऐतिहासिक सम्मानित भाषा हो । प्राचीन लिपिबद्ध परम्परा भएको चारओटा तिब्बत–वर्मीज भाषाहरूमध्ये एउटा भाषा हो । अन्य तीन भाषाहरू तिब्बतीयन, बर्मीज र मनिपुरी भाषा हुन् । हिमाली भाषा–परिवार समूहमा नेपालभाषामात्र प्राचीनकालदेखि लिपिबद्ध भएको देखिन्छ । अहिलेसम्म प्राप्त पुरातात्विक प्रमाणको आधारमा ने.सं. ५०० (वि.सं. १४३७) देखि नै अभिलेख ग्रन्थमा नारद संहिता, मानवन्यायशास्त्र नेपालभाषा नाम अङ्किक भइसकेको देखिन्छ ।अन्य संस्था र व्यक्तिहरूमा निजी सङ्कलनमा सुरक्षित हस्ताभिलेख ग्रन्थहरूमा पनि यो भाषाको प्राचीन प्रख्यात नाम नेपालभाषा लेखिएका प्रमाण प्रशस्त पाइन्छन् । ठाउँ–ठाउ“मा स्थापित शिलाभिलेखहरूमा त झन् स्पष्ट रुपले अथ देश भाषा, अथ स्वदेश भाषा, अथ नेपालभाषा भनेर प्रतिष्ठित गरिएका पुरातात्विक प्रमाण अहिले प्रशस्त प्रकाशित भएका छन् । नेपाल देशको नामबाट नेपालको यो एक प्राचीन भाषालाई नेपालभाषा भनेर संवोधित हुनुले मध्यकालीन नेपालमा नेपालभावना सक्रिय रहेको बुझिन्छ । नेपाल देशलाई नेपाल मण्डल भन्नुमा, नेपालको आफ्नै संवत्लाई नेपाल संवत् भनी चलाउनुमा, नेपाल मण्डलेश्वर, नेपालेश्वर भनेर (कान्तिपुर, ललितपुर र भक्तपुर पृथक पृथक राज्यमा विभाजित भइसकेपछि पनि) नेपाल शब्द अन्तर्निहित रहनुले उपर्युक्त कुराको पुष्टि हुन्छ । यसरी ६०० वर्ष अघिदेखि देशको नामबाट नेपालभाषा भन्ने सुसंस्कारित नामले पहिले सुशोभित हुने नेपालका भाषाहरूमध्ये यो एकमात्र भाषा पुरातात्विक प्रमाणबाट देखापरेकोले यसको ऐतिहासिक भूमिका अत्यन्त महत्वपूर्ण छ । यो भाषालाई ने.सं. ८८० (ई.सं. १७६०) तिर मात्र विदेशी विद्वान्हरूले ‘नेभारी’ अथवा ‘नेवारी’ प्रयोग गर्दै आएको देखिन्छ ।
३. नेपालभाषा साहित्यको प्राचीनता 
विश्वमा कुनै पनि साहित्यको सुरुवात काव्यबाट भएको भए पनि नेपालभाषा साहित्य भने हालसम्मको अध्ययन अनुसन्धानअनुसार ने.सं. ६२५ (वि.सं.१५६२) को आख्यान साहित्य‘भागवत पुराण’नै सर्वप्राचीन साहित्यको रुपमा देखिन्छ । यसरी अहिलेसम्म प्राप्त प्रमाणको आधारमा हेर्दा नेपालभाषा साहित्यको सुरुवात धार्मिक कथा–साहित्यबाट अर्थात् गद्य–साहित्यबाट भएको देखिन्छ ।
नेपालभाषाको पहिलो आख्यान साहित्य विधा ‘भागवत पुराण’ वि.सं. १५६२ मा देखापरे पनि नेपालभाषा काव्य विधा भने यकीन तिथिमिति थाहा नभएको राजा महेन्द्र मल्ल (वि.सं. १६१६)का दुईटा गीतहरू नै अहिलेका लागि सर्वप्राचीन गीत भएकाले यसका रचयिता महेन्द्र मल्ललाई नेपालभाषाका आदिकविका रुपमा स्वीकार गर्ने प्रचलन छ । यसपछि नेपालभाषाबाट निरन्तर साहित्य सिर्जन भएको पाइएको छ । 
प्रस्तुत कार्यपत्र लेखनीमा सुविधाका लागि नेपालभाषा साहित्यको इतिहासको काल विभाजनका साथै यसै आधारमा प्रगतिशीलकाव्यको अध्ययन गरिने छ । यसको लागि सर्वप्रथम प्रगतिशील साहित्यका आधारभूत लक्षणबारे जानकारी हुनु नितान्त जरुरी भएकोले अब त्यसबारे अध्ययन हुनेछ ।
४. प्रगतिशील साहित्यको अभिप्राय —
‘प्रगति’ शब्दमा ‘शील’ युक्त यो ‘प्रगतिशील’ शब्दबारे विभिन्न विद्वान्हरूबाट विभिन्न प्रकारका मतमतान्तरहरू रहेका छन् । 
प्रगतिशील साहित्य बुझ्न सर्वप्रथमतः यो शब्द साहित्यमा कसरी प्रवेश भयो भन्ने कुरा बुझ्न जरुरी हुन्छ । प्रगतिशील साहित्यको जन्म सर्वप्रथम सन् १९०७ मा इटलीमा भएको थियो । (हंस ः सन् १९७१ ः १६) सन् १९१८ मा प्रथम विश्वयुद्धको समाप्तिपछि रुसी जारशाहीको अन्त भयो र त्यसको स्थानमा माक्र्सवादी बोल्शेविक दलको सत्ता स्थापित भयो । यो बेलासम्म काव्यमा रुपलाई नै अधिक महत्व दिने प्रचलन थियो । तर यसपछि नै रुसी काव्य–जगतमा यथार्थवादको प्रवेश भयो । रुसको क्रान्तिले विश्वमै ठूलो प्रभाव पारेको थियो । त्यहाँका साहित्यकारहरूले माक्र्सवादी बोलशेविज्मलाई आफ्नो साहित्यको मूल आधार बनाएर सिर्जना गर्न लागे । यो साहित्यले सामान्य जनताको हृदयमा राज्यसत्ता प्राप्त गर्ने अभिरुचि उत्पन्न गरायो । रुसी साहित्यद्वारा आर्थिक विषमता हटाएर वर्गहीन समाजको स्थापनाको भावना प्रचार गर्न थाले । यिनीहरू श्रमिकहरूमा क्रान्तिको भावना जागृत गर्न चाहन्थे । यिनीहरूले साहित्यमा एक नयाँ वादको जन्म दियो जुन सामाजिक यथार्थवादको नामले प्रसिद्ध छ । माक्र्सवादी विचारधारालाई यो वाद निकै अनुकूल छ । तसर्थ रुसी साहित्यकार यो विचारधाराको प्रचारमा लागे । 
सन् १९३० पछि अंग्रेजी साहित्यमा माक्र्सवादी विचारधाराको प्रवेश भयो । त्यहाँका कविहरूले उच्चवर्गीय जनताको लागि साहित्य निर्माण नगरी सामान्य जन–जीवनसित सम्बन्धित साहित्यको निर्माण गर्न लागे । यिनीहरूले पूँजिवादी शोषण विरुद्धको झण्डा उठाउँदै श्रमिकहरूको विद्रोहको भावना जागृत गरे ।सन् १९१८ को रुसी क्रान्तिबाट भारत पनि प्रभावित भयो । सन् १९२५ मा केही भारतीय युवाहरूले यहाँ साम्यवादी दलको स्थापना गरे र उनीहरूले माक्र्सवादी सिद्धान्तको प्रचार गर्न थाले । यसबाट तत्कालीन कवि र साहित्यकार प्रभावित भएर हिन्दी साहित्यमा नयाँ विचारधाराको अभ्यास सुरु हुन थाल्यो । फलस्वरुप सन् १९३५ मा ‘भारतीय प्रगतिशील लेखक संघ’ नामक संस्थाको जन्म दियो । यसरी अंग्रेजीमा Progressive Literature शब्दलाई हिन्दीमा ‘प्रगतिशील साहित्य’ अनुवाद भयो । उक्त प्रगतिशील लेखक संघले प्रगतिशीलको अर्थ यसरी दियो — हामी त्यसैलाई प्रगतिशील भन्छौं, जसले हामीमा आलोचनाको प्रवृत्ति ल्याउँछ, युगौं युगदेखि चल्दै आएको परम्परागत रुढिवाढी विचारलाई बुद्धिको तराजुमा तौलेर हेर्न प्रोत्साहित गर्दछ, हामीलाई कर्मशील बनाउँछ र संगठनात्मक सिर्जनाको प्रेरणा दिन्छ ।
‘भारतीय प्रगतिशील लेखक संघ’कै अनुकरण गरी ‘अखिल भारतीय हिन्दी प्रगतिशील लेखक–संघ’को पनि निर्माण भयो, जसको प्रथम अधिवेशन सन् १९४७ मा महापण्डित राहुल सांकृत्यायनको अध्यक्षतामा भयो । आफ्नो अध्यक्षको भाषणमा उनले ‘प्रगतिशील’ शब्दको सट्टा ‘प्रगतिवाद’ शब्दको प्रयोग गरे ।
यसरी संघको नाममा ‘प्रगतिशील’ शब्द प्रयोग गरे पनि राहुल सांकृत्यायनयले आफ्नो प्रवचनमा ‘प्रगतिवाद’ प्रयोग गरेदेखि ‘प्रगतिवाद’ शब्दको प्रचलन शुरु हुन थाल्यो । संगठनको नाममा ‘प्रगतिशील’ शब्द राखेर ‘काशी प्रगतिशील लेखक संघ’ र सन् १९३६ मा नै ‘बङ्ग प्रगतिशील लेखक संघ’को निर्माण भएको थियो । यसरी अंग्रेजीको Progressive Literature को नामलाई हिन्दीमा सर्वप्रथम ‘प्रगतिशील साहित्य’ रुपान्तरण गरिएको र पछि ‘प्रगतिवादी साहित्य’ पनि साथसाथै प्रयोग गर्न थालेको यसको इतिहासबाट स्पष्ट हुन्छ । तर यहाँ प्रश्न उठ्छ — अंग्रेजीको Progressive शब्दको अनुवाद यी दुईमध्ये कुन उपयुक्त छ ? निश्चय पनि Progressive को शाब्दिक अनुवाद ‘प्रगतिशील’ नै उपयुक्त छ, ‘प्रगतिवाद’ हुनका लागि ismÚ ’को प्रयोग हुँदा मात्र त्यसको शाब्दिक अनुवाद भएको हुन्छ, तर Progressive शब्दमा ismÚ लगाउने प्रचलन छैन । तर जब Progressive शब्दको भावानुवाद गर्छौं, यो शब्द सन् १९१७ को रुसी क्रान्तिको सेरोफेरोमा रुसमा भएकोले यो शब्दले ‘माक्र्सवादी साहित्य’ अर्थात् कम्युनिष्टहरूको विचार अनुकूलको साहित्य नै भन्न खोजिएको बुझिन्छ । नेपालको सन्दर्भमा पनिवि.सं. २०३० को दशकमा स्थापित प्रगतिशील लेखक संघको प्रगतिशील साहित्यको अर्थ पनि यही नै हो । तसर्थ नै नेपालमा गैरकम्युनिष्ट विचारधारा बोक्नेहरूले आफूहरूलाई प्रगतिशील साहित्यकार भनाउन रुचि राख्दैनन् र प्रगतिशील साहित्यको विरोध गर्दछन् ।त्यसोभए तिनीहरू प्रगतिशील साहित्यकार होइनन् भने के तिनीहरू अप्रगतिशील साहित्यकार हुन् त ? के तिनीहरू प्रगतिशील विरोधी साहित्यकार हुन् त ? के तिनीहरू प्रगति नै चाहँदैनन् त ? के तिनीहरू विध्वंसवादी हुन् त ? अवश्य पनि होइनन् । तसर्थ प्रगतिशील साहित्यकारमा माक्र्स, लेनिन र माओ विचारभन्दा फरक मतका यतिसम्म कि जसले समाज प्रगतिको बारेमा सकारात्मक सोच राखेर लेखेको साहित्य प्रगतिशील साहित्य हो । यसको अर्थ यो साहित्यले बोक्ने विचारधारा समाजलाई स्थिर रुपमा राख्ने यथास्थितिवादी विचारधाराको हुनु भएन र समाजलाई पछाडि धकेल्ने विचारको पलायनवादी विचार अंगीकार गरेको साहित्यभने हुनु भएन । तसर्थ प्रगतिशील साहित्यको फाँट विशालतम छ, यसभित्र कांग्रेस कम्युनिष्ट जो पनि अट्छ ।
यो कुरा स्पष्ट गर्नका लागि एउटा दृष्टान्त प्रस्तुत गर्दछु । जसरी अंग्रेजीको Criticism शब्दको आलोचक र समालोचक दुई शब्द अनुवाद भई आएका छन् र आलोचक भन्नाले नराम्रो पक्षको मात्र चर्चा गरिने र समालोचक भन्नाले राम्रा कुराको मात्र चर्चा गरिने भन्ने दुईटा छुट्टाछुट्टै अर्थ हुन आयो, त्यस्तैगरी Progressive शब्दको अनुवाद पनि ‘प्रगतिशील’ र ‘प्रगतिवाद’ भएको कुरा पुष्टि हुन्छ । तसर्थ Criticism  लाई आलोचना अथवा समालोचना लेख्ने स्वतन्त्रता छ, त्यस्तै Progressive लाई प्रगतिशील अथवा प्रगतिवादी लेख्ने स्वतन्त्रता हुनुपर्छ । आ–आफ्ना धारणा र बुद्धि विवेकले जे दिन्छ, जे बुझ्छ त्यस्तै अनुसारको शब्द प्रयोग गर्न सकिन्छ । तर हाम्रो सामाजिक परिस्थिति यस्तो बनिसक्यो कि प्रगतिशील र प्रगतिवादी छुट्टाछुट्टै शब्द हुन्, प्रगतिवादी साहित्य भनेको मात्र माक्र्सवादी कम्युनिष्ट साहित्य हो र प्रगतिशील साहित्य भनेको त्यस्तो होइन, यसमा गैर माक्र्सवादीहरू पनि अट्छन् भनेर जतिसुकै फलाक्दै हिँडेमा पनि विश्वास गर्दैैनन् र पत्याउँदैनन् ।  
प्रगतिशील साहित्य बारे प्रो.माणिकलाल श्रेष्ठको विचार यहाँ स्मरणीय छ –समाजमा सदासर्वदा रहिरहेको अग्रगामी शक्ति र पुरानो पश्चगामी शक्ति यी दुई शक्तिहरूमा दुईटा संस्कार, दुईटा परम्परा हुन्छन् । यिनमा अग्रगामी शक्तिको पक्ष लिई लेखिएको साहित्य प्रगतिशील साहित्य हो । प्रगतिशीलता युगअनुसारको हुन्छ । मानव समाजको शिकारी अवस्थाको युगमा मान्छे मार्नु हुँदैन, समातेर ल्याएर दास बनाउनुपर्छ भन्नु प्रगतिशील हो, तर आज यही विचार घोरप्रतिक्रियावादी भन्नुपर्छ (स्टालिन) । त्यस्तै दास युगमा सामन्तवाद नै प्रगतिशील, तर आज त्यस्तो भएन । यसरी हेर्दा आजको युगमा सबभन्दा प्रगतिशील, सबभन्दा क्रान्तिकारी मजदूरहरू हुन् । तिनीहरूको हितको प्रतिनिधित्व गर्ने साहित्य सबभन्दा प्रगतिशील साहित्य हो । समाजका पीडित मान्छेहरूको आवाज (आर्थिक शोषणमा परेका शोषित वर्ग, धार्मिक सामाजिक शोषण व्यवस्थाले अछूट गरिएका तल्लो जातका पुरुष वर्गभन्दा एक तह मुनि पारिएका नारी आदि समूहको हित)को प्रतिनिधित्व गर्ने साहित्य अनि विश्वका विभिन्न भागका राष्ट्रिय मुक्ति संघर्षको पक्षमा लेखिएको साहित्य नै आजको युगमा प्रगतिशील साहित्य हो ।
प्रगतिशील वा प्रगतिवादी साहित्य माक्र्स र एगेल्सको मान्यताबाट आरम्भ भएको मान्दै आए पनि उनीहरू भन्दा पहिले पनि कोही त्यस्ता चिन्तकहरू सेन्ट बोन (१८०४–१८६९) तथा टेन (१८२८–१८९३) टल्सटाय, बेलिन्स्की तथा चर्निशेवस्की प्रादुर्भाव भइसकेको थियो ।सेन्ट बोन तथा टेन फ्रान्सका त्यस्ता चिन्तकहरू हुन् जसका विचारधारा र मान्यताले फ्रेन्च साहित्यलाई मात्र होइन अंग्रेजी साहित्यलाई पनि परिवर्तन र प्रभावित गरे । यिनीहरूका मान्यता अनुसार कुनै कृतिको मूल्यांकन गर्नका लागि त्यस कृतिका साथै त्यसका रचनाकारको जीवनको अध्ययन पनि आवश्यक छ ।
पाश्चात्य साहित्यमा १६ औं शताब्दीदेखि सुरु भएको मध्यकालको पूर्वाद्र्धसम्म पनि प्लेटो, अरस्तु, होरेस, क्विंटीलिएन आदि पूर्व आचार्यहरूको सिद्धान्त र मान्यतामा आधारित थियो । तसर्थ यो एक हजार वर्षको ‘अन्धकार युग’लाई पूर्व सिद्धान्तहरू पुनस्र्थापन ागर्ने काल भनेर भनिन्छ । यसपछि पाश्चात्य विद्वान्हरूले नयाँ दृष्टिले चिन्तन गर्न थाले, तर तिनीहरू प्राचीन मान्यता र सिद्धान्तहरू १८ औं शताब्दीको अन्तसम्म पनि स्पष्ट रुपले कुनै चिन्तन धारा नयाँ मान्यता र नयाँ मूल्य स्थापित गर्न सकेनन् । प्राचीनता प्रति जुन विरोध भावनाको सूत्रपात १८ औं शताब्दीमा भयो, त्यो १९ औं शताब्दीमा पूर्ण रुपमा प्रस्फुटित भएर युग–साहित्यलाई प्रभावित हुन थाल्यो । प्राचीन परम्परा विरोधीको यो चर्को आगोले प्राचीनता अथवा पूर्वपरम्पराका असल र खराब सबै जलेर खरानी भयो । काव्य र कला मानव जीवनका अभिव्यक्ति हुन् तसर्थ यो मानव–निरपेक्ष हुने सम्भावना नै नभए पनि यसको विरोधमा गर्ने पूर्ण स्वतन्त्रताका उपभोक्ता कवि–कलाकारहरूले मानव–निरपेक्ष भएर ‘काव्य–काव्यको लागि’ र ‘कला कलाको लागि’ सिद्धान्तको नारा घन्काए । यो वास्तवमा ‘स्वच्छन्दतावाद’ नभएर ‘उच्छुृंखलतावाद’ थियो । ‘मानवतावाद’को जन्म स्वच्छन्दतावादको यो अतिवाद ‘उच्छृंखलतावादको प्रतिक्रिया स्वरुप भयो, जसलाई प्रगतिवादको पृष्ठभूमिमा देख्न सक्छौं ।
कार्लमाक्र्स भिन्न प्रकारका चिन्तक भए पनि उनको मान्यता पनि मूलतः मानवतावादमा नै आधारित छ । उनले मानव जीवनलाई कलाको उद्गम स्रोत मान्दछन् । उनले भनेका छन् — “मानव–अस्तित्व उसको चेतनामा निर्धारित हुँदैन, बरु यसको विपरीत उसको सामाजिक अस्तित्वले नै उसको चेतनाको निधारण गर्दछ ।” माक्र्सको यो भनाईबाट स्पष्ट हुन्छ, उनी मानव चेतनाका आधार उसको सामाजिक स्थितिलाई मान्दछन् । सामाजिक स्थितिको तात्पर्य उनको भनाईमा आर्थिक स्थिति हो जसलाई उनले मान्छेको सम्पूर्ण जीवन स्थितिको आधार मान्दछन् ।
उनले कलामा कलाकारको संवेदन शक्तिको महत्वलाई स्थान दिएका छन् । उनको मान्यताअनुसार संवेदनशीलताले नै सौन्दर्य भावनाको जन्म दिन्छ । उनले मानव–जीवनमा अर्थको महत्ता प्रतिपादित गर्दै त्यसलाई परिवर्तक र नियामक स्वीकारे । त्यसको यो रुप सार्वभौमिक हुने भएकोले कला र साहित्य पनि सार्वजनीन र सार्वभौमिक हुन्छ । जुन साहित्य यो रुपको हुन्छ त्यही साहित्य उनको दृष्टिमा विशाल साहित्य हो । उनको यो मान्यता स्पष्टतः उनको मानवतावादी दृष्टिकोणको द्योतक हो । मानवतावाद नै प्रगतिशील साहित्यको अर्को नाम हो ।
यसरी Progressive Literature लाई ‘प्रगतिशील’ र ‘प्रगतिवाद’ दुबै शब्दहरू प्रयोग प्रारम्भिक अवस्थामा एउटै भाववोधका शब्दहरू भए पनि कालान्तरमा भारत र नेपालमा पनि फरक मत बारे विवाद कायम नै छ । कसैको आँखामा प्रगतिशील र प्रगतिवादी साहित्य एउटै हुन् र त्यो कम्युनिष्ट साहित्यको रुपमा बुझ्दछन् भने कसैको विचारमा प्रगतिवाद मात्र माक्र्सवादी साहित्य हो, प्रगतिशील साहित्य होइन । 
प्रगतिशील र प्रगतिवादी साहित्य दुबैले माक्र्सवादी सिद्धान्तलाई मूल सिद्धान्तको रुपमा स्वीकार्दछन् भने यी दुईका बीच तात्विक भिन्नता के रह्यो ? त्यस्तै लेनिन, प्लेखानोव, म्याक्सिम गोर्की, खुश्चेव, माओत्सेतुङ, हावर्ड फास्ट, इलिया एरेनबुर्ग, क्रिस्टोफर कडवेल, राल्फ फाक्स, जोसेफ स्टालिन आदिलाई मार्ग निर्देशनको रुपमा यी दुबै साहित्यले अपनाउँदछन् भने यी दुईमा विचारभिन्नता के रह्यो ? यसरी हेर्दा दुबै शब्दको सैद्धान्तिक विचारधारा मूलतः एउटै छ, तर हेराइ बुझाइमा मात्र फरक देखिएको मान्नुपर्छ ।

प्रगतिशीलताको मापदण्ड
देश काल परिस्थितिअनुसार प्रगतिशीलताको मापदण्ड पनि फरक फरक हुन्छन् । रुस, बेलायत, चीन, भारत र नेपालमा प्रगतिशीलताको मापदण्डहरू देशअनुकूल वातावरणअनुकूल फरक फरक हुने भए पनि मूल सिद्धान्तमा भने एउटै रुपको हुने देखिन्छ ।वर्तमान नेपालको सन्दर्भमा नेपालभाषा प्रगतिशील साहित्यका मापदण्डहरू निम्नलिखित देखिन्छन् —

१. वर्तमान समाज व्यवस्थाप्रति असन्तोष÷विद्रोह ।
२. समाजको यथार्थवादी चित्रण ।
३. शोषितहरूप्रति सहानुभूति र जागृतिको सन्देश ।
४. पुरातन परिवर्तन र नयाँ युगको निर्माणको प्रबल आकांक्षा ।
५. भाग्यवाद, पुरोहितवाद र ईश्वरवादप्रति विद्रोह र मानव शक्तिमा विश्वास ।
६. नारीप्रति नयाँ दृष्टिकोण ।
७. समाजवादी शासन व्यवस्था प्रति प्रशंसा ।
८. राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रेमको उद्भावना ।
९. साम्राज्यवाद, नव–सामन्तवाद र पूँजिवादविरुद्ध विद्रोहको भावना ।
१०. सामाजिक र धार्मिक रुढिहरूको विरोध ।
११. जनक्रान्तिको आह्वान 
१२.मानवतावादको प्रतिष्ठा
१३. नेपालको सार्वभौमिकतामाथि विदेशी हस्तक्षेपको विरोध ।
यिनै प्रवृत्तिहरूको आधारमा नेपालभाषा साहित्यमा विशेष गरी काव्य क्षेत्रमा प्रगतिशीलताको अध्ययन हुनु वाञ्छनीय देखिन्छ ।
नेपालभाषा काव्यको काल विभाजन —‘नेपालभाषा साहित्यमा प्रगतिशीलता’अध्ययनको सुविधाका लागि साहित्यको काल विभाजनका साथै अध्ययन गरिन्छ ।
१.नेपालभाषा साहित्यको प्राचीनकाल —यो प्राचीन कालको समयावधि ने.सं.६२५–९६७÷विं.सं. १५६२–१९०३ रहेको छ ।
२. नेपालभाषा साहित्यको माध्यमिक कालको समयावधि ने.सं. ९६७–१०६१सम्म रहेको छ । यो भनेको जङ्गबहादुरको शासन कालदेखि वि.सं. १९९७ सालको राजनैतिक काण्डसम्मकोसमयावधि हो । यो माध्यमिक काललाई पनि यसरी विभाजन गरिएको छ — 
क) पुर्व–पुनर्जागरणकालीन साहित्य (ने.सं. ९६७–१०२९)
ख) पुनर्जागरणकालीन साहित्य (ने.सं. १०२९–१०६१)
३. आधुनिक काल — यसको समयावधि ने.सं. १०६१देखि अहिलेसम्मको समय अवधि हो ।यसलाई पनि क) आधुनिक कालको सुरुवाती काल ने.सं.१०६१ देखि १०८४ सम्म र ख) आधुनिक कालको विकास काल ने.सं. १०८४देखि हालसम्म गरी विभाजन गरिन्छ ।
प्राचीन काल – आदिकवि महेन्द्र मल्लदेखि जयप्रकाश मल्लको समयावधि सम्म लेखिएका काव्य भनेकै केवल गीत हो । यो समयको अन्तमा जनस्तरबाट केही गीतकारहरू देखापरे पनि तिनीहरूको काव्यमा प्रगतिशीलता नसमेटिएकाले प्राचीनकालका नेपालभाषा काव्यसम्ममा प्रगतिशील काव्य सिर्जना नभए पनि केही अज्ञात कविहरूले गीतिकथा लेखेर प्रगतिशील काव्य रचना गरेका थिए । यी मध्ये एक गीतिकथा सितला माजु हो ।
राजा रणबहादुर शाह कालीन गीत सितला माजु अर्थात् सितला माई नेपालभाषा साहित्यको निकै चर्चित प्रगतिशील गीत हो । यो गीतको प्रारम्भिक चरणमा सितला माईलाई तत्कालीन प्रजाले दुःख पाएको कुरा बुझिदिनुस भनेर अनुनय विनय गरिएको छ । 
ऐतिहासिक तथ्ययुक्त करुण रसपूर्ण यो गीत राजा रणबहादुर शाहको आफ्नै जीवनसित सम्बद्ध रहेको छ । रणबहादुरको शासनकालमा विफरको महामारी भएको अवस्थामा आफ्नी श्रीमतीलाई विफर रोग सरिने आशङ्काले राजाले विफर आएका सब बाल–बच्चाहरूलाई नेपाल खाल्डोबाट जबर्जस्त धपाउने कार्य गरेकाले बच्चाहरूका आमाबुबाहरूले गाएको गीत हो यो । यो गीतमा एउटा बच्चा पिठ्युंमा बोकेर अर्को बच्चालाई घिसार्दै लानु परेको अवस्था “सूर्य नझरेको ठाउँमा जाडोले कठांग्रिएर बच्चा म¥यो, आमा बुबा आफ्नो छाती पिट्दै रोए” भनेको पढ्नुपर्दा र अझ झन् “बच्चाको आधी शरीर आमाले समातेर र आधी शरीर बाबुले बोकेर तामाकोशीमा खसाल्यो” भन्ने कुरा रहेबाट यो गीतको मार्मिकता सजिलै अनुमान गर्न सकिन्छ । राजा रणबहादुर शाहको यो बहुलापनको स्वेच्छाचारी शासनको विरोधमा अज्ञात गीतकारले राजालाई स्वामी राजाको धर्म नभएर विफर लागेका बच्चाहरूलाई फाल्न लगाए भनेर त्यस्तो क्रूर शासनको समयमा पनि यसरी राजाको विरुद्धमा सीधा लेख्नु भनेको ठूलो साहसिक कार्य हो र यसबाट तत्कालीन नेपालमा राजाको विरोधमा समेत गीत लेख्ने प्रवृत्ति रहेको बुझिन्छ । तसर्थ नेपालभाषा साहित्यमा सिधैराजाको विरोधमा अज्ञात कविले लेखेको यो नै सर्वप्राचीन प्रगतिशील काव्य वा साहित्य हो । प्रगतिशील गीत वा कविताहरू यो समयावधिमा प्राप्त नभए पनि गीतिकथाहरू भने धेरै नै भएको कुरा ‘बाखं म्ये’ पुस्तकमा पाइन्छन् । यस अतिरिक्त यस पुस्तकमा सिलु तिर्थ, जि वया ला लछि मदुनि, संसारया कारणं आदि धेरै प्रगतिशील स्वरुपका गीतिकथाहरू प्राचीनकालका अज्ञात कविहरूले रचेका थिए ।
माध्यमिककालीन नेपालभाषासाहित्यमा प्रगतिशीलता — 
जङ्गबहादुर राणाकालीन अवस्थादेखि नेपालभाषामा साहित्य सिर्जना गर्ने क्रममा ह्रास आएको समयमा प्रगतिशील काव्य रचना हुन कठिन काम भयो । जङ्गबहादुरदेखि चन्द्रशम्शेरसम्म आइपुग्दा नेवारहरूको आफ्नो भाषा नै लोप हुने खतरा आइपरेको चन्द्रशम्शेरको शासनमा नेपालभाषा र यसको साहित्यको पुनर्जागरण भयो र यही पुनर्जागरण कालमा सिद्धिदास अमात्य प्रगतिशील साहित्यकारको रुपमा सर्वप्रथम देखापरेको थियो ।
महाकवि सिद्धिदास अमात्य 
यो समयावधिमा सबभन्दा पहिले देखापरेका कवि÷महाकवि सिद्धिदास अमात्य हुन् । आफ्नो आर्थिक दीनहीन जीवनमा समेत उनले नेपालभाषाको माध्यमबाट पूर्ववर्ती कविहरूभन्दा धेरै फरक ढंगले काव्य लेख्ने कार्य गरे । उनीभन्दा अघिको नेपालभाषाकाव्य–परम्परा भन्नु नै गीति काव्य थियो । तर यो पुनर्जागरण कालदेखि नेपालभाषा साहित्यमा विविध विधाहरूको आविर्भावका साथै प्रगतिशील विचारधाराले पनि ठाउँ ओगट्न थाल्यो । दृष्टान्तको लागि महाकवि सिद्धिदास अमात्यको सज्जन हृदयाभरण (ने.सं. १०४०) नैतिक काव्य,सिद्धिरामायण(नेपालभाषाको पहिलो महाकाव्य), सर्वबधु(नेपालभाषाको पहिलो निबन्ध संग्रह), सत्यसती(नेपालभाषाको पहिलो खण्डकाव्य) प्रकाशित भयो। महाकवि सिद्धिदास अमात्यकोप्रगतिशील विचारको खण्डकाव्य सत्यसती हो । 
आफू दरिद्रताको शिकार भएता पनि, त्यही द्ररिद्रताको कारण श्रीमतीले छोडेर गए पनि समाजको भलोको लागि लेख्ने काम कहिल्यै बन्द नगर्ने महाकवि सिद्धिदास तत्कालीन समाजका उत्कृष्ट प्रगतिशील कवि÷महाकवि हुन् । 
कवि योगवीरसिंह (ई.सं. १८८६–१९४२) को ने.सं. १०४९ मा ‘बुद्धधर्म व नेपालभाषा’ पत्रिकामा प्रकाशित 
‘मनया उद्गार’ अर्थात् मनको उद्गारकवितालाई प्रगतिशील कविताका रुपमा स्वीकार्नु पर्छ । यो कवितामा उनले हाम्रो समाजको प्राचीन जीर्ण परम्परागत चालचलन रीतिरिवाजहरूको समाजले पालना गरिरहेको कारण हाम्रो समाजको प्रगति नभएको ठोकुवा गर्दै विभिन्न मुलुकहरूमा नयाँ राजनैतिक व्यवस्था आएको र सामाजिक साँस्कृतिक परिवर्तनहरू भइरहेकोले हामीले पनि ती देशहरूबाट शिक्षा लिनुपर्ने कुरामा जोड दिई सामाजिक क्रान्तिको आह्वान गरेका छन् ।
यो कवितामा कविले प्रगतिशील दृष्टिकोणले प्रगतिको विरुद्धका व्यक्तिगत कमजोरी र राष्ट्रिय कमजोरी र वैदेशिक षडयन्त्रको समेत विरोध गरी नेपाल र नेपालीको सम्मुनतिका लागि जनतामा चेतनाका लागि अपील गरेका छन् ।  
भैरव गोपाल वैद्य (इै.सं. १९२३–१९४८)
‘घनघोर घटा थन वा’अर्थात् ‘घनघोर घटा यहाँ आउ’ । राणाकालीन यो कवितामा वर्षाको बेला कालो बादलको आवश्यकता भएको सन्दर्भ अगाडि सारेर अप्रत्यक्ष रुपमा राणाकालको अन्त्यको लागि जन–क्रान्तिको गर्नु प¥यो भन्ने सन्देशका साथ कवि वैद्यद्वारा रचित प्रगतिशील कविता हो ।
धर्मरत्न ‘यमि’ (ने.सं. १०३५–१०९५)को साहित्यिक व्यक्तित्वभित्र बौद्ध विचार र प्रगतिशील विचार प्रमुख छन् । युवावस्थामा उनको व्यवहारिक जीवन सामाजिक क्रान्तिकारी र प्रगतिशील देखिन्छ । यिनै अवस्थामा उनले प्रगतिशील काव्यको रचना गरेका छन् । ‘सँदेया लिसः’ उहाँको खण्डकाव्यमा तिब्बती चेली र काठमाडौंका नेवार युवकबीच भएको कुराकानीमा काठमाडौंको नेवार समाजमा व्याप्त अन्धविश्वास, अन्धरीतिरिवाज, अमानवीयता, धर्मान्धता र कुसंस्कार आदिको आलोचना गरी नेवार समाजमा सामाजिक रुपान्तरणलाई विशेष महत्व दिइएको पाइन्छ । 
केदारमान ‘व्यथित’ (ई.सं. १९१५–१९९८)
२००९ सालको ‘असमानता’ कविता केदारमान ‘व्यथित’को अत्यधिक प्रसिद्ध प्रगतिशील धारामा पर्ने कविता हो । उहाँको आफ्नै मौलिकढंगको क्यललभत खालको यो १४ चौध पंक्तिको कवितामा जनकवि अथवा प्रगतिशील कविको स्वभाव, आचार–विचार यो कवितामा व्यक्त गरिएको छ । प्रगतिशील कविले आफ्नो गरीब परिवारको चिन्तामा रहेर पनि समाजमा दुःखी गरिबहरूको पीडा बुझ्न राती पनि ध्यानस्थ भई गरिबी चित्रण गर्न र अन्तमा सिकर्मीले भैंm रन्डाको माध्यमबाट समाजलाई समान गर्नु पर्ने आफ्नो मनसाय व्यक्त गरेका छन् ।
नेपालभाषा साहित्यको आधुनिक कालमा प्रगतिशील काव्य
ने.सं.१०६१ देखि हालसम्मको नेपालभाषा साहित्यको समयावधिलाई आधुनिक काल मानिन्छ । यो समयावधिभित्र परेको पञ्चायती काल प्रगतिशील साहित्यको उर्वरा समय थियो । यो समयमा विशेष गरी २०३० को दशकदेखि प्रगतिशील साहित्य मौलाउन थालेको हो । वि.सं. २०३६ मा राजनैतिक वातावरण जसे खुकुलो भएको थियो, साहित्यकारहरूको असन्तुष्टिका स्वरहरू पनि यत्रतत्र सुनिन थाले ।नेपालभाषा काव्यमा आधुनिकताका साथ प्रगतिशीलता पनि निकै विकास भयो । यो आधुनिक कालका प्रगतिशील कविहरू असंख्य छन् तर पनि प्रमुख रुपमा चर्चित केही प्रगतिशील कविहरू उल्लेखनीय छन् — पूर्ण वैद्य, योगेन्द्र प्रधान, बुद्ध साय्मि, सुन्दर मधिकर्मी, भगतदास, सुदन खुसः, प्रतिसरा साय्मि, रमेशकाजी स्थापित,सुरेश किरण मानन्धर, राजभाइ‘जकःमि’ आदि ।

नेपालभाषा साहित्यका आधुनिक कालका केही प्रगतिशील लघु कविताहरू —
नेपालभाषाका केही प्रगतिशील लघु कविताहरू नेपालीमा रुपान्तरित गरी प्रस्तुत गरेको छु —
पूर्ण बहादुर वैद्यको कविता —‘मांबौनाप’ (आमाबुबासित)
बूढो विश्वामित्रभैंm
ढोकामा युग आएर
आज मलाई माग्दैछ,
मलाई समष्टि छरिदेऊ
सिसीको माछा समुद्रमा छोडिदेऊ
पिँजडाको पंक्षीलाई आकाशमा उड्न देऊ
आज मलाई पूर्णतः आफू हराएर पनि
आफूलाई पाउनु परको छ ।

मेरा आमाबाबा !
मलाई तिमीहरूले बोकी बोकी
मेरो खुट्टा कमजोर नगरीदेऊ
मलाई उठ्न देऊ, मलाई जान देऊ
बाहिर बाटो आएर पर्खि रहेको छ
माया ममताको परिमित घरमा थुनेर 
मलाई लुकाई नराख
जून जस्तो पाला बालेर मलाई समयले बोलाउँदै छ ।

राक्षसराक्षसीहरूको मात्र कथा सुनाएर
तिमीहरूले मलाई तर्साउन नखोज
यो सुकिरहेको सुनसान ठाउँमा
बरु गोली निलेकाहरूका
आवाज पोख्न ल्याउ, कथा थप्न ल्याउ !
अरे ! परिचित आँखा !
इष्टमित्रहरूको नाता !
तिमीहरूले हाँस्दै–हेर्दै
मलाई स्वार्थको बासीभित्र नजमाउनू 
मेरो पछिपछि कोही आइरहेको छ ।
बूढो विश्वामित्रले भैंm
ढोकामा युग आएर
आज मलाई बोलाउँदै छ ।

नातिवज्र वज्राचार्यको कविता—‘!’
रिक्सामा बसेर गइरहेको मान्छेलाई
रिक्साले गति नलिए भैंm लाग्छ
रिक्सा चलाउँदै गरेको मान्छेलाई
हावासित युद्ध गर्दै बढिरहेभैंm लाग्छ ।
दुईजनाको मन दुईतिर फर्केको
आजको हाम्रो मुहारभैंm लाग्छ ।

आनन्द जोशीको कविता— व लाखुसि खः (त्यो त नदी हो) —
यद्यपि नदी मान्छे होइन
यद्यपि नदीको हात–खुट्टा छैन
तैपनि
गतिलाई रोक्न खोज्ने निहुँहरू, पर्खालहरू
सबभन्दा छिटो भताभुंग पार्न सक्छ नदीले ।
यद्यपि नदीको मुख छैन 
तैपनि
आफूलाई रोकेर नियन्त्रण गर्ने क्रमको विरोधमा 
चिच्याएर उठ्दै
विद्रोह गर्न सक्छ नदीले ।
तसर्थ
जसले अभियानको गतिलाई रोक्न खोजेको पर्खाल भत्काइदिन्छ
जसले जिन्दगीलाई नियन्त्रित गर्न खोज्ने क्रमको विरोध गर्छ
त्यो नदी हो ।

बुद्ध साय्मिकोकविता— पित्त मिखां किपा कीपिन्त (पित्त परेको आँखाले चित्र कोर्ने चित्रकारहरूसित) —
यो नदीमा उठिरहेको छाललाई
पार्वतीको शरीरको झक्का देख्ने आँखाहरू
यो नदीबाट निस्केको आवाज सुनेर
राजमतीको पाउजु संझिने कानहरू,
आउ यो नदीमा एकपटक भित्र पसेर हेर्न आउ !
यो नदीको पानीले एक पटक आँखा पखालेर हेर्न आउ ! 

यो मेची, काली, कर्णाली
मेरो देशको रक्त–नलीहरूमा
माछाले लखेटिएका माछाहरूको
माछाले खाइरहेका माछाहरूको
प्रत्येक छटपटमा
सतहमा एक लहर देखापर्छ ।
यिनीहरूको मुख वाइरहेको पीडाले
सहयोग माग्न आउँछ
हावामा आएर 
एक आवाज भई ।

यहाँ अल्याख माछाहरूलाई
ठूला माछाहरूले सधैं सधैं पेटमा भोज बोलाइरहन्छ
अरे हिमाल हेरेर कलममा पखेटा सिउँरिरहेकाहरू हो !
आऊ, हिमालमा बसेर धर्को तान्न आऊ !

नेपालभाषाका तीन प्रमुख प्रगतिशील कविहरू —सिद्धिचरण श्रेष्ठ, दुर्गालाल श्रेष्ठ र पूर्णबहादुर वैद्य
नेपालभाषामा मात्र होइन, नेपालमै सबभन्दा पहिले क्रान्तिको सन्देश दिएर कविता लेख्ने कवि सिद्धिचरण श्रेष्ठ हुन् । क्रान्ति बिना थन दई मखु स्वच्छ शान्ति, शान्ती बिना थन हनं छु मज्वीगु भ्रान्ति यी दुई वाक्य उनको वर्षा कवितामा परेको र प्रकाशित भएकोले सिद्धिचरण राणाको जेलमा ६ वर्षसम्म भोग गर्नु परेको थियो । यसरी क्रान्तिको आवश्यकता बोध गरी क्रान्तिको सन्देश दिने कवि र तिनका कविताहरू नेपालभाषा काव्यमा कविवर सिद्धिचरण श्रेष्ठका ‘वर्षा’ कविता देखि सुरु हुँदै बीचमा अन्य कविहरू भैरव गोपाल, कवि केदारमान ‘व्यथित’ आदि कविहरूमा यस्तो प्रवृत्ति देखा परे पनि जनकवि दुर्गालाल श्रेष्ठसम्म आइपुग्दा उनले क्रान्तिको आह्वान र सन्देशमात्र नदिई जन–क्रान्तिको लागि मार्ग–निर्देशनसमेत दिई कविता लेखेका छन् । लगभग चार दशक अगाडि अर्थात् ने.सं.१०९६ तिर लेखेको यो ‘न्हूदँया न्हूखँ’ अर्थात् ‘नयाँ वर्षको नयाँ कुरा’ शीर्षकको प्रगतिशील क्रान्तिकारी विचारधाराको कविता हो । समाज र देशमा पूर्ण क्रान्तिकारी परिवर्तनको चाहना राख्ने जो कसैले पनि यो कविता पढ्नै पर्ने र यसबाट प्रेरणा र शिक्षा प्राप्त गर्नुपर्ने यो कविताको महत्ता रहेको छ ।
जनकवि दुर्गालालपछिका सर्वाधिक चर्चित आधुनिक कवि पूर्ण बहादुर वैद्यले गद्यशैलीमा आधुनिक ढाँचामा जनकवि श्रेष्ठज्यूकै क्रान्तिको मार्ग–निर्देशनलाई अझ व्यापकतामा ‘थ्व दन्त्यकथा दन्त्यकथा मखु’ अर्थात् ‘यो दन्त्यकथा दन्त्यकथा होइन’ शीर्षकको दीर्घ आकारको आधुनिक प्रगतिशील कविता लेखेका छन् । स्थानको अभावले यो कविता यहाँ उल्लेख गर्न असमर्थ छु । यो कविता तमाम शोषित–पीडित क्रान्तिप्रिय नेपाली जनताले पढ्नै पर्ने भएकोले नेपालीमा अनुवाद गर्नुपर्ने र प्रकाशनमा ल्याउनुपर्ने जरुरी छ ।
यी तीनजना मध्ये पहिलो कवि सिद्धिचरण श्रेष्ठले आफ्नो जिन्दगीको उत्तराद्र्धमा प्रगतिपक्षलाई छोडेर अन्य प्रवृत्तिहरूतिर पनि आकर्षित भए भने जनकवि दुर्गालाल श्रेष्ठ आफ्नो मातृभाषाको मायामा मातृभाषाको संरक्षण र विकासका लागि गीत र कविताका साथै एकांकी नाटककार पनि बन्दै जानुपर्ने बाध्यताले कहीँ कतै गैर प्रगतिशील साहित्य पनि उनले रचेका छन् । तर अन्तिम तेस्रो प्रगतिशील क्रान्तिकारी कवि पूर्ण बहादुर वैद्यले गैर प्रगतिशील काव्य, निबन्ध रचना गरेनन् । तर उनका आधुनिक कविता र निबन्धमा विचार पक्ष प्रगतिशील हुँदाहुँदै पनि प्रस्तुतीकरण शैली आधुनिक भइदिएकोले दुरुहताको कारण बुझ्न गाह्रो पर्छ र यसकारण बुझ्नै गाह्रो कविता वा निबन्ध कसरी जनपक्षीय हुन्छ र कसरी प्रगतिशील हुन्छ भन्ने प्रश्न उठ्ने गर्दछ । पूर्ण वैद्यपछिका नेपालभाषाका तमाम आधुनिक कविताहरू प्रगतिशील कविताको सैद्धान्तिक ढाँचामा पर्दैनन् भन्नुको तात्पर्य पनि यही हो । यही नै प्रगतिशील साहित्यकै लागि पनि समस्या भइरहेको छ ।
नेपालभाषा प्रगतिशील साहित्यका उन्नायकहरू कविवर सिद्धिचरण श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र पूर्ण वैद्य हुन् । तसर्थ नेपालभाषाका प्रथम प्रगतिशील कविको रुपमा कविवर सिद्धिचरण र त्यसपछि यसलाई विकसित गरी अझ उच्चतामा पु¥याउने श्रेय जनकवि दुर्गालालबाटभयो र कवि पूर्ण वैद्यमा आएर प्रगतिशील काव्य पूर्ण विकसित हुन थाल्यो ।
निष्कर्ष
समाज र साहित्य — साहित्यकार समाजमा जन्मन्छ, हुर्कन्छ, बढ्छ । त्यसैले उनमा समाजको प्रभाव परेको हुन्छ र त्यही प्रभाव अनुसार नै उनले आफ्नो काव्य रचना गर्दछ । समाजको अध्ययनको लागि साहित्यको ठूलो मद्दत हुन्छ भने साहित्य मार्पmत् समाजको अध्ययन गर्न मद्दत मिल्छ । तसर्थ कुन समाजको स्वरुप कस्तो छ भन्ने बुझ्न साहित्य पढ्न अनिवार्य छ । नेपालभाषा काव्यमा प्रगतिशीलता अध्ययनपछि अब नेपालभाषा साहित्यमा प्रगतिशील आन्दोलन आवश्यक छ वा छैन, कस्तो दिशा अपनाउनु पर्छ, निक्र्यौल हुनु आवश्यक छ ।
नेपालको विभिन्न कठोर राजनैतिक परिस्थितिहरूमा थरीथरीका प्रगतिशील काव्यहरूको रचना भएको पाइन्छ — राजाको विरुद्धमा वा राजतन्त्रको विरुद्धमा । तर अहिले कथित गणतन्त्रको अवस्था हुँदा नेपालमा भ्रष्ट नेताहरूले मनपरितन्त्र चलाएर देश र जनतालाई लुटिरहेको अवस्थामा त्यसको विरोध र विद्रोहका स्वरहरू सुन्न नपाउँदा नेपालमा प्रगतिशील सांस्कृतिक आन्दोलन वा साहित्यिक आन्दोलनले आराम–विराम पो लिन लाग्यो कि भन्ने भान अवश्य पनि सबैलाई पर्छ नै ।
आज नेपालभाषा प्रगतिशील साहित्य सम्बन्धी जुन विषयक कार्यपत्र प्रस्तुत गर्ने र टिप्पणी गर्ने कार्यक्रमको आयोजना भयो, यो सराहनीय कार्य हो ।यसको लागि आयोजकलाई सहस्र धन्यवाद दिँदै हरेक कार्यको सफलताको कामना गर्दछु ।


सन्दर्भ–सामग्री
१. ओझा, दशरथ (सन् १९५५), समीक्षा–शास्त्र, दिल्ली ः राजपाल एण्ड सन्ज ।
२. कसाः, प्रेमबहादुर (ने.सं. १०९३), बाखं–म्ये, काठमाडौं ः च्वसापासा ।
३. कंसकार, डा.तेजरत्न (ने.सं. ११०२), नेपालभाषा व भाषा विज्ञान,काठमाडौं ः देगः म्हिचा सफू  ।
४. तमोट, काशिनाथ (सं)(ने.सं. ११०१), पुलांगु मे मुना, नेपालभाषा परिषद् ः काठमाडौं।
५. तमोट, काशिनाथ (सं) (ने.सं. १०९६), नेपालभाषाया आधुनिक कविता,काठमाडौं ः पासामुना ।
६. तुलाधर, प्रेमशान्ति (वि.सं.२०५७), नेपालभाषा साहित्यया इतिहास,काठमाडौं ः नेपालभाषा एकेडेमी ।
७. मल्ल, कमलप्रकाश (सं) (१०८७), नःलि स्वना, काठमाडौं च्वसापासा ।
८.मिश्र, डा.शिवकुमार (सन् १९७३) माक्र्सवादी साहित्य चिन्तन, मध्यप्रदेश, हिन्दी ग्रन्थ आकाडमी ।
९. वर्मा, धीरेन्द्र (प्रधान सं) (वि.सं.२०२०) हिन्दी साहित्य कोश, वाराणसी ः ज्ञानमण्डल लिमिटेड ।
१०. वैद्य, डा.जनकलाल (वि.सं.२०५९), नेपालभाषाया प्राचीन काव्य सिर्जना, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
११. वैद्य, डा.जनकलाल (ने.सं. ११०५), राष्ट्रिय अभिलेखालयस्थित नेपालभाषा अभिलेख ग्रन्थ, काठमाडौं ः त्रि.वि.अनुसन्धान महाशाखा ।
१२. योगवीरसिं (ने.सं. १०७१), योग–सुधा, काठमाडौं ः नेपालभाषा परिषद् ।
१३. श्रेष्ठ,डा.तुलसीनारायण (वि.सं.२०६६), नेपालका नेवारहरू, पहिचान र पृष्ठभूमि,काठमाडौं ः अनुसन्धान तथा विकास संस्थाः।
१४. श्रेष्ठ, प्रो.माणिकलाल(वि.सं.२०३०), अन्तर्वार्ता, लबु, वर्ष २, अंक २–३,।
१५. हंस, डा.कृष्णलाल, (सन् १९७१) प्रगतिवादी काव्य साहित्य, मध्य प्रदेश ः मध्य प्रदेश हिन्दी ग्रन्थ अकादमी ।
१६.: !^=Malla, Kamal P.(1982),       Classical Newari Literature:A sketch. Educational Enterprise Pvt. Ltd: Kathmandu






================================================
================================================

हार्दिक निमन्त्रणा !!!

यही २०७२ साल साउन ३० गते शनिवार १२:३० बजे सम्बाद  डबलीको हल  अनामनगरमा  सम्पन्न हुनगइरहेको "नेपाल  भाषा  साहित्यमा प्रगतिशीलता" विषयक विचार गोष्ठीमा तपाईहरु सबैलाई हार्दिक निम्ता छ ।

कार्यपत्र प्रस्तोता :- 
डा. चन्द्रमान बज्राचार्य  

टिप्पणी :- 
मल्ल के. सुन्दर 
डा.प्रेमशान्ती तुलाधर 
सुरेश कीरण

आयोजक :
प्रगतिशील लेखक सङ्घ, नेपाल 
केन्द्रीय समिति

No comments:

Post a Comment