Monday, March 18, 2019

प्रगतिशील साहित्यको इतिहासलेखन बारे छलफल


काठमाण्डौं, २२ कात्तिक २०७१ –



शनिबार काठमाण्डुमा आयोजित विचार गोष्ठीमा प्रगतिशील साहित्य क्षेत्रका  लेखक, विद्वान्, समालोचक र सरोकारवालाहरुले प्रगतिशील साहित्य लेखनका आधारहरुबारे छलफल गरे । कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै समालोचक डा. ताराकान्त पाण्डेयले प्रगतिशील साहित्यको इतिहास लेखन ‘ऐतिहासिक भौतिकवादी पद्धतिमा आधारित भएर लेखिनुपर्ने र त्यसका लागि प्रगतिशील आन्दोलनको इतिहासलाई पनि जोड्नुपर्ने विचार प्रस्तुत गरेका छन् । 
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका पाण्डेयले आफ्नो आधारपत्रमा भनेका छन्, ‘प्रगतिशील नेपाली साहित्यको विकासमा संगठन, सिर्जना तथा विचारका क्षेत्रमा कस्तो योगदान पु¥याए भन्ने कुराको मूल्याङ्कन समेत गर्नुपर्दछ ।’ उनले नेपाली सन्दर्भमा विभिन्न जातिसम्बद्ध भाषाको साहित्यको इतिहास लेखनलाई पनि ध्यान दिनुपर्ने भन्दै त्यसका लागि प्रलेसको स्रोत साधनलाई ध्यान दिनुपर्ने विचार व्यक्त गरेका छन् । 
आधारपत्रमाथि बोल्दै साहित्यकार मोदनाथ प्रश्रितले प्रगतिशील साहित्य लेखनका सन्दर्भमा उठेका प्रश्नहरुलाई ध्यान दिंदा नेपाली भाषालाई खस भाषा भन्दै विभिन्न जाति वा क्षेत्रको पृथकतावादी चिन्तन उठिरहेको कुरालाई पनि सम्बोधन गरिनुपर्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले नेपाली मौलिक साहित्यको खोजी गरेर मात्रै इतिहास लेखन गरिनुपर्नेमा जोड दिए । उनले लोक साहित्यलाई पनि प्रगतिशील साहित्यले समेट्नुपर्ने बताए । 
साहित्यकार आहुतिले प्रगतिशील साहित्यको इतिहास लेख्दा आजसम्मको शासक वर्गको सौन्दर्यदृष्टि र उत्पीडित वर्गको सौन्दर्यदृष्टिको भिन्नतातिर ख्याल गर्नुपर्ने बताए । उनले शासकवर्गीय आ“खाबाट साहित्यको इतिहास लेखिंदा उत्पीडित समुदायको सौन्दर्यदृष्टिलाई प्रगतिशील नदेखिने समेत चर्चा गरे । 
लेखक चन्द्रमान वज्राचार्यले नेपाल भाषालाई नेवारी भन्दै गलत ढंगले प्रचार गरिएको र आधारपत्रमा पनि त्यस्तै गरिएको भन्दै आपत्ति जनाए । उनले गैर नेपाली (खस) भाषाप्रति नेपाली भाषाका विद्वानहरुले न्याय नगरेको पनि बताए । 
छलफलमा प्रँध्यापकहरु देवीप्रसाद गौतम, महादेव अवस्थी, गोपिन्द्र पौडेल, जगदीशचन्द्र भण्डारी, रामप्रसाद ज्ञवाली, हेमनाथ पौडेलले पनि बोलेका थिए । त्यस्तै साहित्यकार विष्णु प्रभात, सुकुम शर्मा, कृष्ण घिमिरे, नन्दीश अधिकारीलगायतले पनि बोलेका थिए । 
कार्यक्रम प्रगतिशील लेखक संघ केन्द्रीय समितिले आयोजना गरेको थियो । संघका पूर्वअध्यक्ष घनश्याम ढकालको कार्यकालमा चार वर्षअघि इतिहास लेखनसम्बन्धी निर्णय भई प्रस्ताव समेत तयार भएपनि त्यसपछिको कार्यसमितिले यसलाई पहिलोपटक छलफलमा ल्याएको हो । 


संघका अध्यक्ष अमर गिरीले आगामी दिनमा थप छलफल गर्दै प्रारम्भिक खालको लेखन यही कार्यकालमा सुरु गरिने जानकारी दिए । 

No comments:

Post a Comment