Monday, March 18, 2019

प्रलेसका केन्द्रीय उपाध्यक्ष साहित्यकार अनिरुद्ध तिम्सिनाको निधन


प्रगतिशिल साहित्यकार अनिरुद्ध तिम्सिनाको ६७ बर्षको उमेरमा निधन भएको छ ।

मुटु, मृगौला, उच्चरक्तचाप र महुमेहका बिरामी बिराटनगर निवासी तिम्सिनाको काठमाडौको शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार साँझ साँढे सात बजे निधन भएको काठमाडौंबाट साहित्यकार अनिल पौडेलले जनाउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका तिम्सिनाको पार्थिब शरिरलाई रातीनै पशुपति आर्यघाटमा अन्त्यष्ठी गरिएको पनि पौडेलले उल्लेख गर्नुभयो ।

बिशेष गरि प्रगतिशिल साहित्य र सास्कृतिमा योगदान गर्नु भएका तिम्सिनाका समालोचना संग्रह साहित्यको अध्ययन र मुल्यांकनका दृष्टिकोण, कबिता संग्रह समयपीडा अर्थात प्रश्नमात्र, एक शताब्दिका पाइलाहरु सहितका कृति प्रकाशित छन् । सन् १९४५ जून ९ मा तेह्रथुमको जलजलेमा जन्मिनु भएका तिम्सिनाका एक श्रीमति, ५ छोरी र १ छोरा छन् । 

भूपेन्द्र तिम्सिना, झापा 

 ===============================================================



  

बिदा भए फरक धारका चिन्तक


विराटनगर, २०६९ आश्विन ९ - 

२०३९ मा साहित्यिक पत्रिका 'जुही' मा छापिएको 'कविता सिर्जनाको प्रक्रियामा भाषिक स्वाभाविकताको प्रश्न' लेख पढेपछि इटहरीका बद्रीविशाल पोखरेल घोरिए । भाषिक स्वाभाविकता भत्काएर गरिने प्रयोगमाथि चिन्ता गर्ने अनिरुद्ध तिम्सिना नामका लेखक उनका लागि नौला थिए । विषय सामयिक थियो । केही समयको अन्तरालपछि उनले तिम्सिनालाई नजिकबाट चिन्न पाए ।

कृषि विकास बैंकका जागिरेको साहित्यमाथिको चिन्तन यी प्राध्यापन पेसाका साहित्यकर्मी पोखरेलका लागि मात्र नभएर पूर्वेली साहित्यिक जमातलाई नै कौतूहलपूर्ण थियो । साहित्यका भाषिक प्रयोग र उतारचढाव अनि कृतिमाथि लेखकले गर्ने प्रयोगका शल्यक्रिया गर्दै आएका तिम्सिना ६७ वर्षको उमेरमा सोमबार बेलुकी संसारबाट बिदा भएका छन् । उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोगबाट पीडित उनको राजधानीस्थित शिक्षण अस्पतालमा उपचार क्रममा निधन भएको हो ।

उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् र प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष थिए । उनी डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष थिए । 'मोरङका समकालीन कविता', 'एक शताब्दीका पाइलाहरू', 'समयपीडा अर्थात् प्रश्नपत्र' र 'साहित्यको अध्ययन र मूल्यांकनका दृष्टिकोण' उनका कृति हुन् । उनले युद्धप्रसाद मिश्र स्मृति पुरस्कार, साहित्य सन्ध्या सम्मान प्राप्त गरेका थिए ।

तेह्रथुमको जलजले, पोक्लावाङमा जन्मेका तिम्सिनाले २५ वर्षे जागिरे जीवनपछिका समय साहित्यका लागि खर्चेका थिए । दर्शनशास्त्र र नेपालीमा स्नातकोत्तर उनी माक्र्सवादी विचारबाट प्रभावित थिए ।

कलाकर्मी खेम नेपाली भन्छन्, 'आर्थिक रूपले सबल हुन नसक्दा उहाँले पाण्डुलिपिहरू घरैमा थन्क्याउनुपरेको थियो । उहाँका प्रकाशोन्मुख कृति ४० वटाजति छन् ।' पद-प्रतिष्ठाको उपयोग गर्न नजान्ने भएकै कारण कृति प्रकाशनका मामिलामा तिम्सिना पछि परेको नेपालीको ठम्याइ छ ।

'तिम्सिना माक्र्सवादी सौन्दर्यशास्त्रका राम्रा अध्येता थिए,' रामबाबु दाहाल भन्छन्, 'उनी नेपाली भाषाकै लागि गम्भीर चिन्तक थिए ।' कृतिको समीक्षा मिहिन तवरले गर्ने मानिएका तिम्सिनाको निधनले साहित्य क्षेत्रलाई क्षति पुगेको कवि सुमन पोखरेलले बताए ।

राजधानीमा निधनपछि उनको सोमबार बेलुकी नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । उनका श्रीमती, एक छोरा र पाँच छोरी छन् ।

यसैबीच, जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले राजधानीमा जारी विज्ञप्तिमा भनेका छन्, 'तिम्सिनाको निधनले नेपाली प्रगतिशील साहित्य जगत् र बौद्धिक क्षेत्रमा अपूरणीय क्षति भएको छ ।' प्रगतिशील लेखक संघ, बसिबियाँलो लगायतका संस्थाहरूले समेत तिम्सिनाप्रति समवेदना जनाएका छन् । 

भीम घिमिरे , कान्तिपुर दैनिक
प्रकाशित मिति: २०६९ आश्विन १०

No comments:

Post a Comment